फाइल तस्वीर
काठमाडौं – प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको प्रष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा एसपीपीका बारेमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफ दिनुहुँदै प्रधानसेनापति शर्माले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

नेपाली सेनाका प्रमुख शर्माले अहिले बाहिर मिडियाहरुमार्फत् एसपीपीका बारेमा जे जति कुराहरु बाहिर आएका छन्, त्यसमा कुनै सत्यता नभएको भन्दै नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने स्पष्ट पार्नुभयो । सैन्य गठबन्धनसम्बन्धी अमेरिकी अधिकारीहरुलाई जानकारी दिइसकेको र आफु नेपाली सेनाले शान्ति स्थापनार्थ खटिएका टोलीको निरीक्षणका लागि अमेरिकाको भ्रमण गर्न लागेको प्रधानसेनापति शर्माको स्पष्टोक्ति थियो ।

प्रधानसेनापति शर्माले नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतिमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै तर पत्रमा सैन्य गठबन्धनका लागि नलेखिएको दावी समेत गर्नुभयो । सेना प्रमुख शर्माले ‘नेपाली सेनाले लेखेको पत्र बाहिरी चर्चामा आएको छ, त्यो सत्य हो, तर चिठीमा सैन्य एलाएन्सको कुरा लेखिएको छैन । भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको थियो’ – भन्नुभयो ।

सैन्य गठबन्धनमा सहभागी हुने भन्ने कुरामा कुनै सत्यता भन्दै प्रधानसेनापति शर्माले ‘मैले सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई जानकारी गराई सकेको छु’ भन्नुभयो ।