फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुनसक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष नेपालले समितिको बैठकमा बौल्दै अमेरिका भ्रमणको बेला कुनै पनि कागजपत्रमा हस्ताक्षर गर्ने बेला ख्याल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिनु भएको हो ।

अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विषयमा यतिबेला देशका सबै राजनीति दल र बौद्धिक समुदायलाई तरङ्गित बनाइरहेको बेला अध्यक्ष नेता नेपालले समितिको बैठकमा बोल्दै कहिलेकाहिं थाहै नपाई हस्ताक्षर गर्न सकिने बताउनु भएको छ ।

आज बिहान भएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सहभागी नेता नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुने भन्दै ती कुराको ख्याल गर्नुपर्ने बताउँदै ‘कूटनीतिका धेरै पक्षहरु हुन्छन् । कहिले दबाव दिएर, कहिले फकाएर, थाहै नदिइकन, निदाएको बेलामा, ह्वीस्की खुवाएर’ समेत फसाउने काम हुनसक्छ भन्नुभयो । नेता नेपालले ‘यो सबै हुने भएको हुनाले ह्वीस्की खाएर नशाको बेलामा सही गरिएला ख्याल गर्नुहोला’– भन्दै प्रधानमन्त्री देउवालाई व्यङ्ग्यात्मक रुपमा सुझाव दिनुभएको छ ।

अध्यक्ष नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा सुरुदेखि अहिलेसम्म के–के भयो हो भनेर सरकारले यथार्थ जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ ।