काठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक आज शुक्रबार बस्दै छ । विवादास्पद अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी विषयमा छलफल गर्न उक्त समितिको बैठक बस्न लागेको हो ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक अहिले बिहान ९ बजे बस्दैछ । उक्त बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित सम्झौता बाहिरिएसँगै संसदीय समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ । सोही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलगायतका विषयमा पनि छलफल हुनेभएको छ ।

असार १ गते बुधबारमात्रै नेपाली सेनाले एसपीपीमा नेपाली सेनाले कुनै सम्झौता नगरेको र देशको अहित हुनेगरी सम्झौता नहुँने धारणा सहितको विज्ञप्ति सार्वजनिक गरेको थियो । सेनाले बाहिर आए जस्तो एसपीपी सम्झौता गरिएको भन्ने कुरामा कुनै सत्यता नभएको सेनाले जनाएको थियो ।

सेनाले जारी गरेको विज्ञप्तिको मसी सुक्न नपाउँदै हिजो बिहीबार २७ अक्टोवर २०१५ मिति तात्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले हस्ताक्षर गर्नुभएको पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति शर्मालाई आजको बैठकमा बोलाएको हो ।