काठमाडौं – आइतबार रातिदेखि हराएका थापाथली इञ्जिनियरिङ कलेजका एक विद्यार्थी मृत अवस्थामा भेटिएका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि चौधरी ग्रुपको निर्माणाधीन भवनको खाली कम्पाउन्ड तल ललितपुर सानेपा घर भएका २२ वर्षीय अभिशेष जैसवालको शव भेटिएको हो ।

उनको शव भेटिएलगत्तै उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय, काठमाडौं प्रहरी परिसर, टेकु, प्रहरी वृत्त कालिमाटी लगायतको टोली घटनास्थलमा पुगेको थियो । हालसम्म पोष्टमार्टमको प्रतिवेदन नआएपछि लडेका कारण भएको चोटबाहेक अन्य सङ्केत नदेखिएको चिकित्सकहरुले बताएका छन् । उनको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ ।

पारिवारीक स्रोतका अनुसार जैसवाल आमासँग झगडा भएपछि साथीसँग जान्छु भन्दै घरबाट निस्किएका थिए ।