बनेपा – जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको बुधबार सम्पन्न भएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा दीपककुमार गौतम विजयी हुनुभएको हो ।

धुलिखेलमा सम्पन्न भएको निर्वाचनमा गठबन्धन दलको तर्फबाट उपप्रमुखमा नेपाली काङ्ग्रेसका रिमबहादुर तामाङ विजयी हुनुभयो । सदस्यमा नेकपा (माओवादी केन्द्र)का कमलराज गिरी, कृष्णकुमारी राई र रष्मिता भण्डारी, काङ्ग्रेसकी अप्सरा सिप्खान, चण्डिका मिजार, निरबहादुर लामा र मङ्गलबहादुर तामाङ विजयी हुनुभएको छ ।

विजयी सबैले बुधबार नै पद तथा गोपनीयताको शपथसँगै पदभार ग्रहण गर्नुभएको छ । काभ्रेपलाञ्चोकमा १३ स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा काङ्ग्रेसले पालिकाको प्रमुख÷अध्यक्षमा सात, माओवादी केन्द्रले चार, एमालेले एक र एकीकृत समाजवादीले एक स्थानमा विजय हासिल गरेको थियो । काङ्ग्रेस उपप्रमुखमा दुई र उपाध्यक्षमा चार, माओवादी केन्द्र उपप्रमुखमा एक र उपाध्यक्षमा तीन तथा एमाले उपप्रमुखमा तीन स्थानमा विजयी भएको थियो । रासस