फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८०का लागि ल्याएको बजेटको विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिन लाग्नु भएको हो ।

आज बिहीबारको बैठमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री जनार्दन शर्माले सांसदहरुले उठाएका विभिन्न मन्त्रालय र राष्ट्रिय सरोकारका विषयमा उठाउनु भएको प्रश्नहरुको जवाफ दिनुहुने छ ।

रक्षामन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएका प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि उठाएको प्रश्नमा जवाफ दिने कार्यसूची बनेको छ ।

सरकारले १५ जेठमा संसदमा बजेट प्रस्तुत गरेको थियो । विभिन्न मन्त्रालयका विनियोजन शिर्षकमाथि छलफल सकिएको र छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ आज अर्थमन्त्री जनार्दन शर्माले दिनुहुने कार्यक्रम छ ।

त्यसबाहेक आजको बैठकमा राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजे बस्दैछ ।