फाइल तस्वीर
काठमाडौं – अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को बारेमा सरकार र नेपाली सेना समेत विवादमा मुछिन थालेपछि नेपाली सेनाले यस बारेमा कुनै सम्झौता र समझदारी नभएको भन्दै विज्ञप्ति नै जारी गरेको छ । अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको भन्दै विज्ञप्ति जारी गरेको हो ।

विवादास्पद एसपीपी सम्झौतालाई लिएर यतिखेर संसद र सडकमा सरकारको विरोध भैरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली सेनाका प्रधानसेनापतिको अमेरिका भ्रमणसँग जोडेर एसपीपी सम्झौताको विषयमा संसदमा सांसदहरुले प्रश्न उठाइरहेका छन् । सत्तागठबन्धन दलका शीर्ष नेताहरुको हिजोको बैठकमा यस विषयमा कुरा भएको र प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अहित हुनेगरी आफुले हस्ताक्षर नगर्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्रीको यो भनाइसँगै नेपाली सेनाले पनि एसपीपी सम्झौता बारे एक विज्ञप्ति जारी गर्दै यससम्बन्धमा कुनै सम्झौता नभएको जनाएको छ ।

सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै सेनाले अमेरिकी सेना वा सरकारसँग ‘एसपीपीसम्बन्धी कुनै सम्झौता वा समझदारी नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ उल्लेख गरेको छ । नेपाली सेनाले राष्ट्रले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा सदैव प्रष्ट र सचेत रहेको उल्लेख गरेको छ ।