काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष २२ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर उक्त ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाउन गएको प्रतिनिधिमण्डलमा पार्टी अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ नेता दीपक बोहोरा, उपाध्यक्ष बुद्विमान तामाङ, महामन्त्री धबलसमशेर जबरा सहितको शीर्ष नेताहरु जानुभएको थियो । राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको २२ बुँदे ज्ञापनपत्रमा देशमा वर्तमान अवस्थामा महँगी नियन्त्रण, किसानलाई समयमा मल, बिऊ उपलब्ध गराइनुपर्ने लगायतका जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरु उल्लेख छन् । जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराइएको राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी गराउनु भयो ।

प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, सुशासन र सम्वृद्धिलगायतका मागहरु उल्लेख गरिएका छन् । राप्रपाले कालोबजारी नियन्त्रण, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसमा भइरहेको श्रृङ्खलाबद्ध मुल्यवृद्धि अविलम्ब रोक्नुपर्ने, भ्रष्टाचार नियन्त्रणमा प्रभाकारी कदम चाल्नुपर्ने, नागरिकको मौलिक अधिकारको रुपमा रहेको शिक्षा, स्वास्थ्य निःशुल्क उपलब्ध गराइनुपर्ने, इम्वोस्ड नम्बर प्लेटमा देवनागरी लिपीको व्यवस्था हुनुपर्ने, भूमिहीन तथा घरबारबिहीन सुकुम्बासी समस्याको स्थायी समाधान गर्नुपर्ने जस्ता विषयलाई मागको रुपमा पेश गरिएको छ ।

राप्रपाले देशको बढ्दो व्यापार घाटा नियन्त्रण गर्दै व्यापार सन्तुलन गर्नुपर्ने, आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकले पनि मतदान गर्न पाउनुपर्ने व्यवस्था मिलाउनु पर्ने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र निर्माण गर्नुपर्ने लगायत माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।