काठमाडौं – निर्वाचन आयोगले आज आषाढ १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार, सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको हो । त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने भएको छ ।

‘यहि असार १ गतेदेखि फेरि मतदाता नामावली दर्ता प्रक्रिया प्रारम्भ हुन्छ । सबै जिल्ला प्रशासन कार्यालय, सबै निर्वाचन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा दर्ता गर्न सकिन्छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘कुनै पनि व्यक्ति काठमाडौंमा बसोबास गर्नुहुन्छ, उहाँ ताप्लेजुङको हो। कुनै व्यक्ति पोखरामा बसोबास गर्नुहुन्छ, मनाङको हो भने पनि आफ्नो स्थायी ठेगानामा, त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ ।’

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली सङ्कलन कक्ष स्थापना गरी नामावली सङ्कलन गरिने भएको छ । काठमाडौं बाहिरका नागरिकले पनि काठमाडौंबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

download.png