फाइल तस्वीर
काठमाडौं – जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँका विरुद्ध कुनै पनि दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समितिमा विष्ट निर्विरोध निर्वाचित हुनुभएको हो ।

जिल्ला समन्वय समितिको प्रमुखसहित उपप्रमुख र सात सदस्यमा कुनै पनि दलले उम्मेदवारी नदिएपछि नेपाली काङग्रेसका उम्मेदवारहरु निर्विरोध निर्वाचित हुनुभएको छ । यसरी निर्विरोध निर्वाचित हुने उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक हुनुहुन्छ ।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा काङ्ग्रेस विजयी भएको थियो । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा नेपाली काङग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको थियो भने बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।