फाइल तस्वीर
काठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले बिहानदेखि एक नम्बर प्रदेश, मधेस, बाग्मती र गण्डकी प्रदेश गरी चार वटै प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो प्रदेश–एक, मधेस प्रदेश, बाग्मती र गण्डकी प्रदेशका केही स्थान र बाँकी तीन प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको हुनसक्ने सम्भावना छ ।

यसैगरी बुधबार राति प्रदेश–एकका साथै मधेस, बाग्मती र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अत्यधिक वर्षाको सम्भावन रहेको यी प्रदेशका पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सचेत रहन मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध समेत गरेको छ । नदी तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वर्षा नभएका क्षेत्रमा तापक्रमको वृद्धिका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।