फाइल तस्वीर
काठमाडौं – प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न मन्त्रालयका शिर्षकहरुमाथि छलफल हुँदैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ ।

आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, स्वास्थ्य तथा जनसङख्या, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जामन्त्री, जलस्रोत तथा सिंचाई, सञ्चार तथा सूचना प्रविधि र गृह मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ तत् तत् मन्त्रालय सम्हालेका मन्त्रीहरुले सांसदहरूले उठाएका प्रश्नमा जवाफ दिने कार्यसूची रहेको छ ।

यस्तै सांसद प्रेम सुवाद, दुर्गा पौडेल, शिवमाया तुम्वाहाङफे, जगतबहादुर सुनार, घनश्याम खतिवडा, गोकर्ण विष्ट, जुली कुमारी महतो, आशा कुमारी बिक, नरबहादुर धामी, भानुभक्त ढाकाल, वसन्त कुमार नेम्वाङ, पद्यमा आर्याल, बिमला बिक, लालबाबु पण्डित, गोकुल बास्कोटा, यज्ञराज सुनुवार, सूर्य पाठक, भीम रावल, नवराज शिलवाल, दीपक प्रकाश भट्ट, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङले राखेको खर्च कटौतीको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७९, आर्थिक विधेयक २०७९, आर्थिक विधेयक, २०७९ माथि दफावार छलफलको लागि दिन तोकिने, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।