फाइल तस्वीर
काठमाडौं – अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउँदै पञ्चशीलको सम्बन्ध, अन्तर्राष्ट्रिय कानुन र राष्ट्रिय हितलाई ध्यान दिएर काम गरिरहेको सरकारले बताएको छ । परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउने भएका मन्त्री डा.नारायण खड्काले आज प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो दावी गर्नुभएको हो ।

प्रतिनिधिसभाको बैठकमा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयक २०७९ माथि सांसदहरुले उठाउनु भएको प्रश्नहरुको जवाफ दिने क्रममा सरकारले देशको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाइरहेको जिकिर गर्दै परराष्ट्रमन्त्री खड्काले यस्तो धारणा व्यक्त गर्नु भएको हो ।

परराष्ट्रमन्त्री खड्काले सरकारले सही तरिकाले परराष्ट्र नीति अवलम्बन गर्दा देशको प्रतिष्ठा र विश्वसनीयता अन्तर्राष्ट्रिय जगतमा बढेको भन्दै ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ । यो सरकारले लिएको नीतिका कारण हो । नेपालसँग १७६ देशसँग दैत्य सम्बन्ध कायम भएको छ’– भन्नुभयो ।

परराष्ट्रमन्त्री खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेर्न आग्रह गर्दै दुई देशबीचको सम्बन्ध विस्तारका लागि भेटघाट र भ्रमण स्वभाविक भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण आगामी असारको अन्तिम सातामा हुने र अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरिंदैछ । हालसालै सार्वजनिक भएको सम्झौताको उक्त मस्यौदामा नेपालमा अमेरिकी सेनालाई सहजरुपमा उपस्थित हुन दिने कुरा उल्लेख गरिएको छ । प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणलाई रोक्नु पर्ने आवाज उठिरहेको बेला परराष्ट्रमन्त्री खड्काले भने बचाउ गर्दै भ्रमण र भेटघाटलाई शङ्काले नहेर्न आग्रह समेत गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै मन्त्री खड्काले नेपालको स्वाधिनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन् । सार्वभौमसत्ता, स्वाधिनताप्रति सरकार गम्भीर रहेको भन्दै कुनैपनि नकारात्मक आशङ्का नराख्न सांसदहरुलाई आग्रह गर्नुभयो ।