फाइल तस्वीर
चितवन – नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालन भएको छ । अविरण वर्षासँगै सोमबार राति पौने १ बजे उक्त स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको थियो ।
आज मङ्गलबार बिहान पहिरो हटाइ दुईतर्फी सवारी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यसैगरी, सडक भासिएर चार दिनदेखि अवरुद्ध रहँदै आएको पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड पनि सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ स्थित मस्याङ्र्दी पावरहाउस नजिकको सडक छेउको पहरो काटेर साढे दुई मिटर सडक विस्तार गरी सोमबार रातिबाट दुईतर्फी आवत जावत गर्न मिल्ने गरी सञ्चालनमा आएको आँबुखैरनस्थित प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै साना तथा हलुका सवारी साधनमात्र सञ्चालन हुँदै आएको थियो । सडक मस्र्याङ्दी नदीले कटान गर्दा भासिएको थियो । उक्त स्थानमा सवारी दुर्घटनामा परी दुई जनाले ज्यान गुमाएका थिए । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ ।

भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको प्रहरीले जनाएको छ ।

दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको आँबुखैरेनी प्रहरी कार्यालयले बताएको छ ।