काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ । कामु प्रधानन्यायाधीश दीपक कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासमा भएको सुनुवाइ टुङ्गिन नसकेपछि हेर्दाहेर्दैमा परेको हो ।

तात्कालिन तीन जना डीआईजीले एआईजी बढुवा सिफारिसविरुद्ध हालेको रिट र एआईजी विश्वराज पोखरेलले धिरजप्रताप सिंहको आईजीपी बढुवाविरुद्ध हालेको रिटको एकै ठाउँमा राखेर सुनुवाइ भइरहेको छ । सुरुमा एआईजी सिफारिसविरुद्धको रिटमा बहस गरिएको थियो । इजलासले अन्तिम सुनुवाइका लागि विपक्षी अर्थात सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

एआईजी विश्वराज पोखरेलले सरकारले वरीयता मिचेर आफूभन्दा जुनियर धिरजप्रताप सिंहलाई आईजीपी नियुक्ति गरेको भन्दै त्यसविरुद्ध मुद्दा दायर गरेका थिए । सरकारले सिंहलाई २०७८ चैत ७ मा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र २०७९ वैशाख १८ मा प्रहरी महानिरीक्षक आईजीपी नियुक्त गरेसँगै पोखरेल बिदामा रहेका छन् ।