फाइल तस्वीर
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।

देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुने भन्दै अध्यक्ष नेपालले असंग्लन परराष्ट्र नीतिबाट सरकार अविचलित हुनुहुँदैन भन्नुभयो । नेता नेपालले परराष्ट्र नीतिको विषयमा कुनै किसिमको पनि दवाब र धम्की स्वीकार्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै भन्नुभयो ‘कुनै पक्षमा नलाग्ने हाम्रो असंग्लन परराष्ट्र नीति छ । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।’