फाइल तस्वीर
काठमाडौं – अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री जर्नादन शर्मालाई उहाँको पार्टी नेकपा माओवादीले फिर्ता बोलाउने विषयमा छलफल चलाएको छ । अर्थमन्त्री शर्माको काम कारवाही, नेपाल राष्ट्र बैंकका गभर्नरसँगको मनमुटाव जस्ता विषयमा टिकाटिप्पणी हुन थालेपछि माओवादी केन्द्रेले उहाँलाई फिर्ता बोलाउन लागेको हो ।

अर्थमन्त्रीको काम कारवाहीका विषयलाई लिएर पार्टीका शीर्ष नेताहरु बीचमा छलफल भएको बताइएको छ । मुलुकको अर्थतन्त्र सङ्कटाउन्मुख भएको अवस्थामा अर्थमन्त्री शर्माले अर्थतन्त्रलाई ट्र्याक ल्याउने गरी प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै सत्तासाझेदार दलहरु र स्वयम् माओवादी केन्द्र भित्र पनि आलोचना हुन थालेपछि अर्थमन्त्री शर्मालाई पार्टीले फिर्ता बोलाउन लागेको बताइएको छ ।

अर्थमन्त्री शर्माको काम कारवाहीले पार्टीमाथि नै प्रश्न चिन्ह खडा हुने अवस्था खडा नहोस् भनेर उहाँलाई फिर्ता बोलाउने बारेमा छलफल भएको बताइएको छ । संसदबाट बजेट पास भएपछि मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ । एकसाता अघि नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई बोलाई नयाँ मन्त्रीका लागि नाम समेत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो ।

संसदबाट बजेट पास भएलगतै मन्त्रिमण्डल पुनर्गठन हुने बलियो सम्भावना छ । सरकारको नेतृत्व गरेको नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रमा मन्त्रिमण्डल पुनर्गठन गर्न नेतृत्वलाई दवाव परिरहेको छ ।

यसैबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री शर्माबीच हिजो आइतबार प्रचण्ड निवास खुमलटारमा करिब दुई घण्टा कुराकानी भएको प्रचण्डको सचिवालयले बताएको छ । यद्यपि, उहाँहरुबीच के विषयमा लामो कुराकानी भयो भन्ने विषयमा भने अहिलेसम्म गुपचुप नै छ ।