फाइत तस्वीर


काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन निर्माण गरेर जानुपर्ने एजेण्डा अघि सार्नुभएको छ । प्रधानमन्त्रीसमेत एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई पटक पटक भेटेर लोसपाका अध्यक्ष ठाकुरले यस्तो धारणा राख्दै आउनु भएको हो ।

लोसपाले लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गर्न लोकतान्त्रिक गठबन्धन गर्नु उपयुक्त हुने बताएको छ । लोसपाले नेपाली काङ्ग्रेसप्रति लक्षित गर्दै वामपन्थी शक्तिसँग निरन्तर गठबन्ध गरेर अघि बढ्दा लोकतान्त्रिक मूल्य मान्यतामा कालान्तरमा ह्रास आउने र वामपन्थी शक्ति झन् बलियो बन्दै जाने आशंका गर्दै लोकतान्त्रिक गठबन्धन बनाउनु पर्नेमा जोड दिएको छ ।

लोसपाका अध्यक्ष ठाकुरले ‘तपाईँले अहिले गठबन्धन गरेका सबै दल वामपन्थी दल हुन्, निरन्तर उनीहरुसँग गठबन्धन गरेर जानुभयो भने कालान्तरमा लोकतान्त्रिक शक्तिहरू क्रमशः कमजोर हुँदै जानेछन्, यसमा पुनर्विचार गर्नुपर्ने देखिन्छ’ भन्दै ‘स्थानीय तहको निर्वाचनमा हेर्दा काङ्ग्रेसले जित हासिल गरेको भएता पनि कुल परिणाममा हेर्दा वामपन्थी शक्तिहरूको मत बढाउने काम स्वयम् काङ्ग्रेसले गरेको छ, आफ्नै खुट्टामा बञ्चरो नहान्नुहोस्’– अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई सुझाउनु भयो ।

संख्यात्मक हिसाबले नेकपा एमाले दोस्रो भएपनि जनमतको हिसावले नेकपा एमाले पहिलो दल रहेको उल्लेख गर्दै अध्यक्ष ठाकुरले काङ्ग्रेसले गठबन्धन गरेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल वामपन्थी शक्ति रहेको तर्क गर्नुभयो ।

नेपाली काङ्ग्रेसले वामपन्थी शक्तिहरूलाई मत माग्दै हिँड्न नहुने भन्दै लोसपाका अध्यक्ष ठाकुरले मुलुकभर वामपन्थी शक्तिहरूको बढी मत कायमै रहेको बखतमा काङ्ग्रेसले गठबन्धनको नाममा झन् मत बढाउने काम गर्दा लोकतान्त्रिक शक्तिहरूमा दिन प्रतिदिन क्षयीकरण हुँदै गएको दावीसमेत गर्नु भएको छ ।

गत साता सम्पन्न लोकपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकमा पनि ठाकुर, शरदसिंह भण्डारीलगायतका केही नेताहरुले लोकतान्त्रिक गठबन्धनको एजेण्डालाई बहसको विषय बनाउनुपर्ने जोड दिनुभएको थियो ।

आज बिहान लोसपाका अध्यक्ष ठाकुर, शरदसिंह भण्डारीलगायतका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ११ बुँदे ज्ञापनपत्रका विषयलाई लिएर ज्ञापनपत्रका विषयमा मात्र छलफल गर्नुभएको थियो । लोसपाले आगामी संसदीय र प्रदेशसभाको निर्वाचनमा वामपन्थी दलहरुसँग गठबन्धन नगरी लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गरेर जानु पर्नेमा जोड दिन थालेको छ । बलियो लोकतन्त्रका लागि लोकतान्त्रिक शक्तिहरू एकजुट नभएमा मुलुकमा अप्ठ्यारो अवस्था पनि आउन सक्ने लोसपाको ठम्याइ छ ।