काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीको सेवासुविधा बढाउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हिजो आइतबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले सेवासुविधाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विशेषगरी तल्ला तहका शिक्षक तथा कर्मचारी साथीहरूको तलब, सेवासुविधालगायतका समस्या मैले सुनेको छु । शिक्षाको जगको आधार नै धरमरायो भने शिक्षामा विकासको अपेक्षा गर्न सकिँदैन । सम्पूर्ण शिक्षक तथा कर्मचारीको समस्याप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । तपाईंहरूको जायज मागका लागि म सरकारसमक्ष पहल गर्ने वचनबद्धता व्यक्त गर्न चाहन्छु ।’

उहाँले सङ्घीय शिक्षा ऐन ल्याउन र उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि पहल गर्ने बताउनुभयो । सङ्घीय शिक्षा ऐन, उच्चस्तरिय शिक्षा आयोगको प्रतिवेदन, शिक्षा बजेट, शिक्षकको राजनीतिक अधिकारलगायतका विषय राज्यकै समस्या रहेको भन्दै माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले ती त्रुटिहरू सच्याउन शिक्षकहरूले शान्तिपूर्ण सङ्घर्ष गर्नुपर्ने बताउनुभयो । शिक्षकका समस्या बाँकी रहँदासम्म शिक्षामा सुधार गर्न नसकिने दाबी गर्दै प्रचण्डले शिक्षकहरू शिक्षा विकासका मेरुदण्ड भएको समेत उल्लेख गर्नुभयो ।