फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज सोमबार पनि बस्दैछ । जारी बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न मन्त्रालयलहरुका विनियोजन विधेयकका शीर्षकमाथि सांसदहरुले उठाउनु भएका प्रश्नहरुको जवफा आजदेखि सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि जेठ १५ गते सार्वजनिक गरेको बजेट अन्तर्गत विनियोजन विधेयकमाथि सांसदहरुले प्रतिनिधिसभाको बैठकमा आ–आफ्नो धारणा राख्दै आउनुभएको थियो । हिजो आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएसँगै आजबाट सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने छ ।

बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफल सकिएपछि आजको बैठकमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनुहुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी गराउनु भएको थियो ।

सभामुख सापकोटाले यही जेठ ३० गतेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकका छलफलका क्रममा उठेका प्रश्नका विषयमा सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम रहेको जानकारी गराउनु भयो ।

सांसदहरुले उठाउनु भएका सम्बन्त्रित मन्त्रालयका विनियोजन विधेयक २०७९ माथिको प्रश्नहरुको जवाफ मन्त्रीहरुले दिएपछि संसद्ले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पास गर्नेछ । आगामी साउन १ गतेदेखि नयाँ बजेट कार्यान्वयनमा आउनेछ ।