फाइल तस्वीर
काठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो ‘ब्रुमर’ सञ्चालनमा ल्याइने बताउनु भएको छ । प्रमुख साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्रुमर’ छिट्टै सञ्चालनमा ल्याइने बताउनु भएको हो ।

‘ब्रुमर’ चालकको करार अवधि सकिएसँग राजधानीका सडकमा ‘ब्रुमर’ गुड्न छाडेका थिए । दुई महिनादेखि ‘ब्रुमर’ सञ्चालनमा आउन सकेको थिएन । करारमा ‘ब्रुमर’ चालक नियुक्त गरेर पुनः सञ्चालनमा ल्याइने मेयर साहले बताउनु भएको छ । ‘ब्रुमर’ले सडकमा रहेका धुलोलाई सफा गर्ने काम गर्दछ । काठमाडौं महानगरपालिकाले राजधानीका सडकलाई धुलोरहित बनाउन ब्रुमरको प्रयोग गर्दै आएको थियो ।

महानगरपालिका सँग रहेका ‘ब्रुमर’ राष्ट्रियसभा गृहको प्राङ्गणमा मर्मतसम्हारको पर्खाइमा रहेका छन् । महानगरपालिकासँग एक दर्जन ब्रुमर रहेका छन् ।

राष्ट्रियसभा गृहको प्राङ्गणमा मर्मतसम्हारको पर्खाइमा ‘ब्रुमर’

विकास साझेदारसँग हरेक महिनाको पहिलो सोमबार बैठक बसेर समन्वय बढाइने बताउँदै प्रमुख साहले महानगर आफैंभित्र अन्तरविभाग र विकास साझेदार कार्यालयबीच समन्वय बलियो बनाइने बताउनु भएको छ । मेयर साहले साझा प्रयास र सहभागिताले लक्ष्य हासिल हुने हो । यो सबैसँगै हुनुपर्छ’– भन्नुभएको छ ।

उपप्रमुख सुनीता डङ्गोलले पूर्वतयारीसहित गरिएको बैठक उपलब्धिमूलक भएको धारणा राख्दै साझा धारणा बनाएर अगाडि बढ्नका लागि आउँदा दिनमा पनि पूर्वतयारीसहित बैठक गरिने जानकारी गराउनु भयो ।

बैठकले नगरसभाको ११औं अधिवेशन आगामी असार ५ गते गर्ने निर्णय गरेको छ । बैठकले उपप्रमुख डङ्गोलको अध्यक्षतामा स्थानीय राजश्व परामर्श समिति समेत गठन गरेको छ ।

बैठकले प्रमुख साहले पेस गर्नुभएको कार्यपालिकाअन्तर्गतका विषयगत समितिका संयोजकको नाम अनुमोदन गरेको छ । बैठकमा छलफल गर्दै कार्यपालिका सदस्यहरुले समुदायस्तरका समस्या, महानगरसँग वडाले गरेका अपेक्षा, आफूले गरेका प्रयास र समग्र महानगरको समृद्धिका विषयमा धारणा राख्नुभएको थियो ।