फाइल तस्वीर
काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गर्नुभएको हो ।

संसदमा बोल्दै एमाले सांसद ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको बताउनु भयो । सांसद ज्ञवालीले ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ? भनि प्रश्न गर्दै ‘यसबारे सदनले थाहा पाउन जरूरी छ’– भन्नुभयो ।

त्यसोत रक्षामन्त्रीको जिम्मेवारी लिनुभएको डा. मीनेन्द्र रिजालले पार्टीको १४ औं महाधिवेशनमा पराजित भएपछि रक्षामन्त्रीबाट राजिनामा दिनु भए पश्चात् प्रधानमन्त्री देउवाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।

यद्यपि, प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्ने विषयमा अहिलेसमम औपचारिक जानकारी आइसकेको छैन । प्रधानमन्त्रीको अमेरिका भ्रमणको बारे अहिलेसम्म परराष्ट्र मन्त्रालयले समेत विस्तृत विवरण खुलाएको छैन ।

एमाले सांसद ज्ञवालीले अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउन माग गर्नुभएको छ । सांसद ज्ञवालीले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको भन्दै आपत्ति समेत प्रकट गर्नुभएको थियो ।

प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमणको बारेमा केही दिनअघि पनि संसदमा चर्चा चलेको थियो । त्यसबेला सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले संसदमा यस विषयमा कुरा उठाउनु भएको थियो ।

यसैबीच अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्रका प्रमुख चाल्र्स ए फ्लिनले नेपालको भ्रभण गर्दै शुक्रबार प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेट गर्नुभएको थियो । चाल्र्स ए फ्लिनले नेपाली सेनाका प्रमुख प्रभुराम शर्मालाई समेत भेट गर्नुभएको थियो ।