काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं महानगरपालिकाका सबै सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ । महानगर कार्यपालिकाको आज जारी दोस्रो बैठकमा प्रमुख साहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिनुभयो ।

उहाँले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताउनुभयो ।

सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख साहले बताउनुभयो ।