काठमाडौं – नेपाल राष्ट्र बैंकले भोलि जेठ ३० गते २० अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले जेठ ३१ गते जारी गर्न लागेको ९१ दिने, १ सय ८२ दिने र ३ सय ६४ दिने ट्रेजरी बिलको बोलकबोल भोलि सोमबार गर्ने भएको हो । राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आगामी भदौ २८ गते परिपक्व हुनेछ ।

केन्द्रीय बैंकले १ सय ८२ दिनका लागि ४ अर्ब रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ । यो ट्रेजरी बिल भने आगामी मङ्सिर २७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले अर्को वर्ष अर्थात् वि.सं. २०८० जेठ ३० गते परिवक्व हुने गरी ३ सय ६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल पनि जारी गर्ने भएको छ ।

यी ट्रेजरी बिलको भोलि दिउँसो ३ बजे अनलाईनको माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।