काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै सार्वजनिक यातायातको भाडादर पुनः बढाएको छ । यातायात व्यवस्था विभागले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढेको जनाएको हो ।

यसअघि जेठ ११ मा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २ दशमलव ५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३ दशमलव ३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३ दशमलव ७ प्रतिशतले बढेको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै विभागले पनि गाडी भाडा बढाउने निर्णय गरेको हो । निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो । विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले घटबढ भएमा भाडा समायोजना गर्दै आएको छ । प्रदेशहरूले यसै आधारमा छोटो दूरीको सवारी भाडा बढाउने गरेका छन् ।