फाइल तस्वीर
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अत्यधिक स्थानमा विजयी गराउने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले एमाले सङ्घीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राख्नुभएको हो ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताउनुभएको छ । अध्यक्ष ओलीले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको तथा अन्य पार्टीहरू वामपन्थी नभएको जिकिर गर्नुभयो ।

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले स्थानीय पालिकाको निर्वाचनले सबै निर्वाचनको स्थिति तय नगर्ने भन्दै सिट सङ्ख्याका हिसाबले केही कम आएर दोस्रो भए पनि लोकप्रिय मतका हिसाबले पार्टी पहिलो भएको दावी समेत गर्नुभयो ।