काठमाडौं – आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले चार महिनादेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी हुँदा पनि सरकार मुकदर्शक बनेर बसेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले गृहमन्त्री र शिक्षामन्त्रीलाई त्रिविमा ताला लागेको जानकारी छ ? भनी प्रश्न गर्नुभएको हो ।

‘१३९ दिन भयो त्रिभुवन विश्वविद्यालयमा ताल्चा लागेको गृहमन्त्रीज्यू, शिक्षामन्त्रीज्यू तपाईलाई जानकारी छ’ उहाँले भन्नुभयो, ‘के उत्कृष्ट हुन लागेको हो ?’ सरकारले बजेटमार्फत त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई सेन्टर फर एक्सिलेन्स बनाउने घोषणा गरेको छ । तर नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

सांसद रावलले त्रिभुवन विश्वविद्यालयमा ताला लगाउँदा प्रहरी उपस्थित भएको प्रत्यक्षदर्शीको बताएको भन्दै प्रश्न गर्नुभयो, ‘यो भन्दा विडम्बना, यो भन्दा गैरजिम्मेवार, यो भन्दा शिक्षाप्रतिको नेपाल सरकारको खेलवाड के हुन सक्छ ?’ ‘यहाँ आएर हामी त्रिभुवन विश्वविद्यालयलाई उत्कृष्ट बनाउँछौं भन्नेले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेकोमा प्रधानमन्त्री र गृहमन्त्रीले रमिता हेरेर बसेको भन्दै आफूले आफैंलाई ब्यङ्ग्य नहान्न भन्नुभयो । उहाँले भन्नुभयो, ‘के यो विश्वमा १३९ दिन विश्वविद्यालय बन्द हुँदा गृह मन्त्रालय र शिक्षा मन्त्रालय मुकदर्शक हुने संसारमा कहिँ हुन्छ ?’