काठमाडौं – मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण पहिरो खस्न गई मुग्लिङ–नौविसे र मुग्लिङ–नारायणगढ सडक अवरूद्ध भएको छ । मुग्लिङ–नौविसे सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ४ नाग्दीखोलामा पहिरो खस्दा सडक अवरूद्ध भएको हो ।

यस्तै मुग्लिङ–नारायणगढ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका वडा नम्बर ६ को तोपेखोला नाम्सी पुलमा सडक अवरूद्ध भएको छ । आज बिहान करिब ४ बजेतिर पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।

पहिरो हटाएर सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गए रातिदेखि नै यात्रुहरू सडकमा रोकिएका छन् ।