फाइल तस्वीर ।


काठमाडौं – राष्ट्रियसभाका सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद खिमलाल भट्टराईले नागरिकतासम्बन्धी विधेयकबारे सरकारको ध्यानाकर्षण गराउँदै संविधान कार्यान्वयनमा सरकार जिम्मेवार नभएको आरोप लगाए ।

उनले शैक्षिकसत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीले पुस्तक पाउन नसकेको भन्दै सामुदायिक विद्यालयको स्तर खस्कँदै गएकोप्रति चिन्ता व्यक्त गरे । त्रिभुवन विश्वविद्यालयमा किन ताला लगाएको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै सांसद भट्टराईले प्रमुख प्रतिपक्ष दलले संसद्मा उठाएका आवाजलाई सरकारले बेवास्ता गर्दा संसद्कै गरिमा घटिरहेको धारणा व्यक्त गरे ।

विशेष समयमा सांसद सुरेश आलेमगरले देशमा झन्डै पाँच लाख व्यक्ति लागुपदार्थको दुर्व्यसनमा फसेको तथ्य प्रस्तुत गर्दै लागुपदार्थको दुर्व्यसनलाई घटाउने विषयलाई सरकारले गम्भीरतापूर्वक लिँदै समाधानको बाटो खोज्नुपर्नेमा जोड दिए ।

सांसद आलेले भने, ‘लागुपदार्थको दुर्व्यसनका बारेमा सरकारले ध्यान दिएको छैन, सुधार केन्द्रका बारेमा राज्यसँग कुनै नीति छैन । यसलाई सही ढंगबाट समाधानको बाटो खोजिनुपर्छ ।’

विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति सरकार परिवर्तन हुँदैमा परिवर्तन नहुने जनाउँदै नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्त र असंलग्नता नीति नै भएको बताए । उनले राष्ट्रिय सुरक्षा नीति, परराष्ट्र नीति र जलस्रोत नीतिका सम्बन्धमा परराष्ट्र मन्त्रालयले मुख्य राजनीतिक दलका नेतासँग छलफल गरी कम्तीमा सो विषयमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताए ।

सांसद मायाप्रसाद शर्माले राउटे समुदायको संरक्षण गर्दै उनीहरूलाई जातिका रूपमा विकास गर्नु राज्यको दायित्व भएको बताए ।

सांसद नन्दा चपाईले बालीनालीका लागि किसानलाई तत्काल कृषि मलको आवश्यकता परिसक्दा पनि सरकारले मलको व्यवस्था गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद गोमादेवी तिमिल्सिनाले सातवटै प्रदेशमा उद्योगधन्दाको विकास गर्ने भनेर बजेटमा लेखेर मात्र नहुने भन्दै उद्योगधन्दालाई आवश्यक पर्ने कच्चापदार्थको परिपूर्तिको वातावरण समेत सरकारले तयार पार्नुपर्नेमा जोड दिइन् । रासस