काठमाडौं – अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु प्रकरणको घटनाबारे सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सभामुख अग्नि सापकोटाले सरकारलाई निर्देशन दिनुभएको छ । आज बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सांसदहरुले उठाउनुभएको उक्त घटनाबारे आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु हुँदै दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

सभामुख सापकोटाले भन्नुभयो, ‘‘माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा म नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।,’’ ‘‘घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देशन गर्दछु ।’’ बैठकमा विशेष समयमा बोल्नुहुँदै सांसद यज्ञबहादुर बोगटीले शाहीको मृत्युको घटनामा प्रहरीले जाहेरी लिन नमानेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।