साङ्केतिक तस्वीर

धादिङ – धादिङको गल्छी गाउँपालिका–७ भल्टारमा गएराती जिप र ट्रक ठोक्किँदा जिप चालक सहित दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक दोलखाका अन्दाजी २५ वर्षीय प्रकाश नेपाली र परिचालक ठेगाना नखुलेका अन्दाजी १८ वर्षीय अनिस बोगटी रहेका छन् ।

गम्भीर घाइते भएका दुवैको उपचारको क्रममा गल्छिस्थित अम्बेभरोसा अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको प्रहरी चौकी गल्छीले जनाएको छ ।

चितवनबाट काठमाण्डौ आउँदै गरेको ना ५ च २६८३ नम्बरको जिप ओभरटेक गरेर अगाडी जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख ९७७७ नम्बरको ट्रकसँग ठोक्किएको थियो । गएराती पौने ३ बजे भएको सवारी दुर्घटनालगतै सम्पर्क बिहिन भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।