चितवन – भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काङ्ग्रेसको उप–प्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काङ्ग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काङ्ग्रेसको बहुमत भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काङ्ग्रेसबाट निर्वाचित भएका छन् । काङ्ग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) बाट बीना नेपाली पनि निर्वाचित हुनुभएको छ ।

दलित तथा अल्पसङ्ख्यकबाट काङ्ग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी) की कोपिला उपरकोटी निर्वाचित हुनुभएको सूचनामा उल्लेख छ । भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १ सय ५० पुगेको छ । जसमध्ये काङ्ग्रेसका ७६ जना, नेकपा (एमाले) का ५२ जना, माओवादी केन्द्रका ११ जना, एकीकृत समाजवादीका ६ जना, राप्रपाका चार जना र स्वतन्त्रका एक जना रहनुभएको छ ।

महानगरपालिकामा २९ वडा छन् । जसमध्ये कार्यपालिकामा काङ्ग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी हुनुभएको छ । रासस