फाइल तस्वीर


काठमाडौं– सरकारले १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । वर्षाद्को समयमा सडक खन्दा हिलो हुने तथा मर्मतमा कठिनाइ हुने भएपछि सरकारले यस्तो निर्णय गरेको हो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, बबरमहलका अनुसार रोक लगाउँदा लगाउँदै पनि सडक निर्माणको गरेको पाइएमा सख्त कारबाही गर्ने जनाएको छ । उक्त कार्यालयले ‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले १ असार देखि २०७९ भदौ मसान्तसम्म सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्न स्वीकृति नदिइने’ बताएको छ ।

कार्यालयका अनुसार ‘कसैले जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने’ भन्दै नियम लागू हुने पाँच दिनअघि नै सो चेतावनी दिइएको छ । टेलिफोन, खानेपानी, बिजुली तथा ढलका काम गर्दा सडक खन्ने र काम पुरा गरेपछि खनिएका सडकहरु अलपत्र छोड्ने, खनिएका खाल्टाहरु राम्रोसँग नपुर्ने जस्ता समस्या सहरी तथा सहर उन्मुख वस्तीहरुमा व्यापक छ ।

यस्तो प्रवृत्तिले एकातिर सडक बिग्रँदै जाने, सडक अवरुद्ध हुने, खनिएका खाल्टाहरुमा पानी जम्मा भै दुर्घटना हुने, बटुवाहरुलाई समेत समस्या हुने गरेका छन् ।