फाइल तस्वीर

काठमाडौं – नुवाकोटस्थित सिसडोल ल्याण्डफिल साइट वरपरको पानी पनि प्रदूषित भएको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । हिजो मङ्गलबार सिसडोल ल्याण्डफिल साइट पुगेको नास्टको विज्ञ टिमले त्यहाँको पानी सङ्कलन गरी परीक्षण गर्दा प्रदूषित भएको तथ्य निकालेको हो ।

नास्टका वैज्ञानिक डा. रविन्द्र ढकालको नेतृत्वमा डा. टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहित सिसडोल ल्याण्डफिल साइट पुगेको विज्ञ टोलीले गरेको अध्ययनमा फोहोरको लिच्चडका कारण पानीसमेत प्रदूषित भएको पाइएको जनाएको छ ।

सिसडोल ल्याण्डफिल साइट पुगेको विज्ञ टोली

टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरक फरक विन्दुबाट पानीको नमुना सङ्कलन गरेर अध्ययन गरेको थियो ।

सिसडोलबाट सङ्कलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । ल्याण्डफिल साइटको १ किलोमिटर परसम्मको पेरिफेरीको पानीमा समेत प्रदूषणको मात्रा उच्च रहेको पाइएको छ । उक्त क्षेत्रको वातावरणमा समेत प्रतिकुल प्रभाव पार्नुको साथै पशु पंक्षीलाई समेत नकारात्मक प्रभाव पारेको बताइएको छ ।

त्यस क्षेत्रको पानी तथा लिच्चडको पूर्ण रिपोर्ट केही दिनमा आउने र त्यहाँको समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा नास्टले सरकार र महानगरपालिकालाई सुझाव सहितको प्रतिवेदन बुझाउने छ । मानवीय जीवनसँग मात्र नभै समग्र वातावरणीय क्षेत्रमा प्रदुषणले पार्न सक्ने नकारात्मक प्रभावको बारेमा समेत अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा सरकारको ध्यान जानुपर्ने देखिएको छ ।