फाइल तस्वीर
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बुधबार पनि देशका विभिन्न क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहने छ । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।

आज एक नम्बर प्रदेश, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भै वर्षात् हुने र बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भई एक नम्बर प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

यसैगरी भोलि बिहीबार पनि प्रदेश नम्बर एकका साथै मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश एक, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली तथा लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।