फाइल तस्वीर


काठमाडौं – सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा विनियोजन विधेयक –२०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने संसद सचिवालयले उल्लेख गरेको छ । आज कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित रहेर छलफल हुनेछ ।

विनियोजन विधेयक २०७९ माथि नेपाल किसान मजदुर पार्टीका सांसद प्रेम सुवालले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले कृषि तथा पशुपन्छी विकास र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बजेट घटाउने बारेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी एमालेकी सांसद पद्माकुमारी अर्यालले कृषि तथा पशुपन्छी विकास मन्त्रालय र माओवादी केन्द्रकी सांसद विमला वि.क.ले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका बजेट घटाउने बारेको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले उल्लेख गरेको छ ।