काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सामाजिक न्याय, शान्ति, समृद्धि, समता र मानवअधिकारका आधारमा नेपाली समाजलाई रूपान्तरण गर्न शिक्षाका सबै तह र संरचनालाई पुनःताजगी गर्न लागिएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), राष्ट्रसंघीय बालकोष (युनिसेफ) र थाइल्याण्ड सरकारको आयोजनामा बैंककमा जारी एसिया प्रशान्त क्षेत्रका शिक्षामन्त्रीहरूको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षाका सबै संरचनाका साथै सामग्री र सेवा प्रवाहबारेका विद्यमान सोचमा पनि पुनःसंरचना हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले विद्यमान कानुन, नीति र पाठ्यक्रमलाई समयानुकूल अद्यावधिक गर्दै सुशासन, अभिभावक शिक्षा, सामुदायिक सहभागिता, सेवा प्रवाहमा विविधता, प्रविधिको उपयोग र शिक्षकको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो । एसिया प्रशान्तमा शिक्षा क्षेत्रको संरचनात्मक पुनःसंरचना, पुनःताजगी र नवीकृत सोच साझा आवश्यकता रहेको जनाउँदै मन्त्री पौडेलले नेपालको संविधानका शैक्षिक हक र राष्ट्रसंघीय दीगो विकास लक्ष्यमा समाविष्ट शिक्षासम्बन्धी लक्ष्यहरू पूरा गराउन निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र राष्ट्रिय शिक्षा नीति, २०७६ तर्जुमा गरिएको अवगत गराउनुभयो । उहाँले कोभिड–१९ जस्ता स्वास्थ्य महामारीबाट शिक्षा क्षेत्रलाई भविष्यमा प्रभावकारी बनाउन पूर्वतयारीमा रहनु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

नेपालको संविधानले शिक्षालाई अधिकारको दृष्टिले सम्बोधन गरेको चर्चा गर्दै उहाँले विपन्न र अपांगता भएका व्यक्तिलाई उच्चशिक्षासम्म निःशुल्क दिलाउन सरकार प्रतिबद्ध छ रहेको स्पष्ट पार्नुभयो । मन्त्री पौडेलले आगामी महिनादेखि सरकारले विद्यालय शिक्षा क्षेत्र सुधार कार्यक्रम (इएसपी, २०२२–२०३०) सुरु गर्न लागेको जानकारी दिँदै सीमान्तकृत र बहिष्करणमा परेका वर्गका लागि विशेष सम्बोधन गर्न सरकार तम्तयार रहेको उल्लेख गर्नुभयो । सो सम्मेलनमा सम्बन्धित मुलुकका शिक्षामन्त्री र उच्चाधिकारीको सहभागिता हुनुले यस क्षेत्रले शिक्षालाई दिएको महत्व दर्शाएको बताउँलै मन्त्री पौडेलले सम्मेलन शिक्षा सुधारको मार्गचित्र कोर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभएको छ । रासस