काठमाडौं – झण्डै एक महिना अघिदेखि काठमाडौं उपत्यकाका सडक तथा गल्लीहरुमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । नुवाकोटको बञ्चरेडाँडा तथा सिसडोल ल्याण्डफिल साइटमा फोहोर बिर्सजन गर्न दिने विषयमा स्थानीय वासिन्दासँग सहमति भएसँगै काठमाडौंको फोहोर उठाउन लागिएको हो ।

शहरी विकास मन्त्रालयमा हिजो सोमबार भएको सर्वपक्षीय बैठकमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानियबासीको माग सम्बोधन गरी फोहोर व्यवस्थापन गर्ने सहमति जुटेको हो। मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको वार्तामा काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, गोकर्णेश्वर नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीवेशी नगरपालिका लगायतका स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता थियो ।

सहमति अनुसार काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइटमा फोहोर फालेपछि हरेक दिन १५ सेन्टीमिटर माटोले पुर्नेछ । त्यसो गर्दा दुर्गन्ध फैलन नपाउने बताइएको छ । यसैगरी, महानगरपालिकाले एक साताभित्रै स्थानीय वासिन्दाको स्वास्थ्य विमा गर्न सुरु गर्ने छ भने सडक तथा अस्पताल निर्माणमा नेपाल सरकार र काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गर्नेछन् ।

महानगरपालिकाले अबदेखि उपत्यकामा सङ्कलन हुने फोहोरलाई कुहिने र नकुहिनेमा वर्गिकरण गर्नेछ । आगामी साउनदेखि कुहिने र नकुहिने फोहेरलाई अलग्गै राख्नुपर्न व्यवस्था महानगरपालिकाले गर्ने भएको छ । कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउन अन्यत्रै कारखाना स्थापना गरिने छ भने नकुहिने फोहोर मात्रै बञ्चरेडाँडामा लगेर बिर्सजन गरिने छ ।