फाइल तस्वीर ।

काठमाडौं – मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा एकाएक रोकिएको छ । सरकारमा रहेका एकीकृत समाजवादीका मन्त्रीहरुको तीव्र असन्तुष्टि र सत्तारुढ नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)ले समेत मन्त्रिपरिषद् हेरफेरमा अनिच्छा देखाएपछि तत्कालका लागि मन्त्रिपरिषद् हेरफेर नहुने भएको हो ।

सत्ताघटक दल नेकपा (एकीकृत समाजवादी) ले आइतबार आफ्ना मन्त्री हेरफेरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नयाँ नाम सिफारिस गर्दै पत्र पठाएको थियो । एकीकृत समाजवादीको सचिवालय बैठकले सरकारमा भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने र मन्त्रिका लागि नयाँ नाम पठाउने निर्णय भएको थियो ।

अध्यक्ष नेपालले मन्त्री हेरफेरका आकस्मिक रुपमा नाम बुझाएपछि सरकारबाट बाहिरिन लागेका मन्त्रीहरुले प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताहरुलाई भेटेर मन्त्रिपरिषद् हेरफेर नगर्न अनुरोध गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने कुरा हाललाई रोकिन पुगेको छ ।


यता एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले पार्टीले मन्त्री फेर्ने निर्णय गर्दै नामसहित सिफारिस भैसकेकोले अब कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । नेता चौधरीले ’मन्त्रिपरिषद् हेरफेर अनिश्चित भयो भन्ने मैले पनि सुनेँ । अध्यक्षसँग कुरा भएको छैन । पार्टीले निर्णय गरिसकेपछि अब कार्यान्वयन हुनुपर्छ । रोक्ने भन्ने कुरो हुँदैन’– भन्नुभएको छ ।

हिजोसम्म आजका लागि मन्त्रिपरिषद् हेरफेर गर्ने र नयाँमन्त्रीलाई शपथग्रहण गराउने समेत करिब करिब अन्तिम अवस्थामा पुगेको थियो । तर आज सोमबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् हेरफेर नगर्ने निर्णय गरेपछि रोकिन पुगेको हो । आज बिहानको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागी थियो ।

एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि काङ्ग्रेस, माओवादी केन्द्र र जसपामा पनि मन्त्रिपरिषद् हेरफेरका लागि दबाब बढेपछि अध्यक्ष नेपाललाई तत्काल मन्त्रिमण्डल फेरबदल गर्दा राम्रो सन्देश नजाने भनेर सहमति गराएपछि एकीकृत समाजवादीका तर्फबाट सरकारमा रहेको मन्त्रीहरुलाई नै निरन्तरता दिने निर्णय भएको हो ।

एकीकृत समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भवानी खापुङलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाउन सिफारिस गर्नुभएको थियो ।