फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको र नयाँमन्त्रीको नाम सिफारिस गरेको छ ।

आज आइतबार बसेको पार्टीको सचिवालय समितिको बैठकले सरकारमा रहेका पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य मन्त्री विरोध खतिवडालाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेसँगै नयाँमन्त्री पठाउने निर्णय गरेको थियो ।

नेकपा एकीकृत समाजवादीबाट नयाँमन्त्रीमा मेटमणि चौधरी–शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ–पर्यटन, शेरबहादुर कुँवर–श्रममन्त्रीका लागि सिफारिस भएको छ । यसैगरी यसअघि राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गर्ने र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्ने गरी पार्टीले सिफारिस गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीहुनेहरुको नामावलि आज बुझाइसकिएको छ । मन्त्रीमा सिफारिस भएकाहरुलाई भोली सोमबार अपराह्न शपथ गराइने भएको छ ।