फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा नयाँ समीकरणको प्रयत्न भइरहेको खुलासा गर्नुभएको छ । आफ्नै निवास खुमलटारमा आज बसेका पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा बोल्दै अध्यक्ष दाहालले यस्तो धारणा राख्नुभएको हो ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम नजिता सार्वजनिक भैसकेपछि प्रतिपक्षी नेकपा एमालेले गठबन्धनलाई भत्काउन कम्युनिस्ट पार्टीहरुबीच कार्यगत एकतादेखि पार्टीएकतासम्मको कुरा उठ्दै प्रचण्डलाई प्रधानमन्त्रीको अफर आएको सार्वजनिक हुन थालेका छन् । अध्यक्ष प्रचण्डले यसैक्रममा कतिपय पार्टीहरूमा विभाजनको खतरा रहेको पनि बताउनु भएको छ ।

माओवादी केन्द्रले स्थानीय निर्वाचनको समीक्षा, पार्टी पदाधिकारीलाई पूर्णता दिने, सरकारले हालै ल्याएको बजेटबारे छलफल गर्न बैठक बसेको हो । बैठकमा प्रचण्डले गठबन्धनमा नयाँ समीकरण बन्ने प्रयत्न भइरहेको, कतिपय पार्टीमा विभाजनको खतरा देखिएको र यो आफ्नो पार्टीका लागि अवसर हुनसक्ने दावी समेत गर्नुभयो ।

एमालेले स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि उक्त पार्टीभित्र खैलाबैला मच्चिएको केन्द्रीय कार्यालयको विस्तारित बैठकमा प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो ।