फाइल तस्वीर


काठमाडौं – हालै सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र विभिन्न किसिमका मत मतान्तरहरु सतहमा आएका छन् । निर्वाचनको आधाआधी मतपरिणाम घोषणा हुँदानहुँदै एमालेले निर्वाचनमा सत्तागठबन्धनले व्यापक धाँधली गरेको आरोप लगाएको थियो ।

पार्टी अध्यक्ष केपीशर्मा ओलीले निर्वाचनमा आफ्ना कार्यकर्ताहरुले नै आफ्ना उम्मेदवारलाई भोट नदिए अन्य दलका उम्मेदवारलाई भोट खसाली अन्तर्घात गरेको विश्लेषण गर्नुभएको थियो । हुन पनि एमाले पार्टी विभाजनको प्रभाव एमालेले स्थानीय निर्वाचनमा भोग्यो । स्थानीय निर्वाचनको माहोल तताउने काम एमाले अध्यक्ष ओलीले नै गर्नुभएको हो । एमाले अध्यक्ष एक्लै निर्वाचन अभियानमा हिंड्नुभयो, तर उहाँले पार्टीका नेताहरुलाई खासै जिम्मेवारी दिए जस्तो देखिएन ।

निर्वाचनको समीक्षा गर्नेक्रमममा एमालेले कार्यकर्ता र मतदाताहरुलाई अन्तर्घात गरेको आरोप लगाएको थियो । यसै विषयलाई लिएर एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले स्थानीय निर्वाचनमा नेताहरूको भूमिका मूल्याङ्कन नगरी मतदाताहरूलाई अन्तर्घातीको आरोप लगाउन नहुने बताएका छन् ।

नेता भुसालले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरूको कमजोरीको मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । पार्टीका सबै जिम्मेवार नेताहरूले हालैसम्पन्न स्थानीय तहको निर्वाचनमा हाम्रो भूमिका के भयो भन्ने मूल्याङ्कन नगरी अन्तघात भयो भनेर आरोप लगाउन नहुने बताउनु भएको छ । नेता भुसालले आफ्ना भोटरलाई अन्तर्घाती भनेर हाम्रो दायित्व पूरा हुँदैन । हामीले आफ्नै भित्रको कमजोरी के के छन् त्यो खाज्नु पर्ने बताउनु भएको छ ।

नेता भुसालले एक टेलिभिजनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना र पार्टी हितविपरित अन्तर्वार्ता दिएको भन्दै केही समयदेखि एमालेवृत्तबाटै सोसल मिडियामा समेत उहाँको आलोचना भैरहेको छ । सोही अन्तर्वार्तालाई लिएर नेता भुसालमाथि कारवाही गर्न केन्द्रीय अनुशासन आयोगले केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको छ ।

यसैबीच नेता भुसालले अनुशासन आयोगले आफुलाई कारवाही गर्न सिफारिस गरेको भन्ने निर्णयको बारेमा आफूलाई कुनै जानकारी नभएको बताउनु भएको छ । नेता भुसालले यो विषयमा औपचारिक जानकारी आएपछि मात्रै आफुले बोल्ने बताउनु भएको छ ।