बुटवल– रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी खोलाको पुलमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदैगरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ तोड्दै खोलामा खसेर दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये उपचारका क्रममा भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा पाँच जना र भीम अस्पतालमा चार जनाको मृत्यु भएको जनाइएको छ । मृतकमध्ये एक जना महिला र आठ जना पुरुष रहेका छन् । उनीहरूको सनाखत भने हुन बाँकी छ ।

सो दुर्घटनामा परी २३ जना घाइते भएका छन् । घाइते भएका यात्रुहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी गराउनु भयो ।

आज आइतबार बिहान करिब साढे ४ बजे तिर बस रोहिणी पुलको रेलिङ भत्काउँदै खोलामा खोलामा खस्न पुगेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ । बिहानको समयमा चालक निदाएका कारण बस दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पुल घुम्तीमा रहेको कारण पनि चालकहरू झुक्किएर दुर्घटना हुने गरेको प्रहरीको भनाइ छ ।