फाइल तस्वीर
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत अमानवीय र गम्भीर पराधराजन्य कार्य भएको बताउनुभएको छ । नेपाल ‘छुवाछुत मुक्त राष्ट्र’ घोषणा भएको १६ औँ वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत् यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले छुवाछुत र जातीय भेदभाव सामाजिक रुपमा अनैतिक कार्य हो भन्दै सभ्य समाजको लागि यो कलङ्क पनि हो भन्नुभएको छ । भेदभाव र छुवाछुतको अन्त्य अनिवार्य रहेकोमा जोड दिँदै प्रधानमन्त्री देउवाले प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुनेगरी जीउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित गर्न कानुन नै बनाएर समातामूलक समाज निर्माणको सार्थक प्रयास भैरहेको बताउनु भएको छ।

समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको भन्दै प्रधानमन्त्री देउवाले मानव सृष्टि र सभ्यताको विकासक्रमसँगै प्रारम्भ भएको विभेद, विकृति र विसङ्गतिले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमार्फत् देउवाले हरेक नागरिकलाई न्याय समानतासहितको मर्यादित जीवनको लागि शुभकामना दिनुभएको छ ।सरकारले नेपाललाई २१ जेठ २०६३ साल जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।