फाइल तस्वीर
काठमाडौं – राष्ट्रियसभाको बैठकले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्तावलाई स्वीकृत गरेको छ ।

यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद पुनरावलोकन सम्बन्धी सङ्कल्प प्रस्तावक रहनुभएकी राष्ट्रियसभा सदस्य कमला पन्त र डा. विमला राई पौड्याल, विमला घिमिरे, खिमलाल देवकोटा लगायतका सांसदहरु समर्थक रहेको उक्त प्रस्ताव राष्ट्रियसभा बैठकले सर्वसम्मतरुपमा स्वीकृत गरेको हो ।

सांसद पन्तले सङ्कल्प प्रस्ताव पेस गर्दै नेपालमा बाल यौनजन्य कसुर तथा बलात्कारजस्तो जघन्य अपराध गर्ने प्रवृत्ति झनै बढेको भन्दै यससम्बन्धी अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी नेपालका विद्यमान कानूनहरुमा भएको व्यवस्था अत्यन्तै अनुपयुक्त र अव्यवहारिक तथा पीडकमैत्री रहेको धारणा राख्नुभएको थियो ।

‘हदम्यादकै कारण एकपछि अर्को बलात्कार पीडितका लागि न्यायको ढोका बन्द भएका थुप्रै घटना देखिएका छन् । यो भन्दा ठूलो विडम्वना अरु के हुनसक्छ ?’ भन्दै सांसद पन्तले ‘मुलुकको अस्मिताको नै प्रश्न आइरहेको आजको आवश्यकतामा हदम्यादको व्यवस्थाका सम्बन्धमा अन्य मुलुकहरुको अभ्यास हेर्दापनि दर्जनौं मुलुकमा हदम्याद छैन । बालबालिकाको हकमा हदम्याद नै नबनाऊँ’ भन्दै प्रस्तावलाई अनुमोदन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

सोही प्रस्तावको पक्षमा बोल्दै सांसद खिमलाल देवकोटाले अपराधीलाई सजाय जन्मकैदसम्म हुनसक्ने तर उजुरी एक वर्षभित्र नदिए नलाग्ने भन्ने कानूनी व्यवस्था उचित नरहेको भन्दै यस्तो कानूनको सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो । ‘अपराधीलाई सजाय जन्मकैदसम्म हुनसक्ने तर उजुरी एक वर्षसभत्र नदिए नलाग्ने भन्ने कानूनी व्यवस्था उचित छ जस्तो लाग्दैन । त्यसैले यसमा सुधार गर्न जरुरी छ’ सांसद देवकोटा भन्नुभयो ।

सांसद डा. विमला राई पौड्यालले बलात्कारसम्बन्धी सजायमा पुनरावलोकन जरुरी रहेको भन्दै उजुरी गर्नु भनेको न्यायको पहिलो ढोका भएको र बाल यौन दुव्र्यवहारको हकमा उजुरी दिने हदम्यादसम्बन्धी हालको व्यवस्था पूर्णरुपमा हटाउन माग गर्नुभयो ।

सांसद राईले बालबालिका बाहेक अरुको हकमा समेत बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनःविचार गर्नुपर्नेमा जोडदिंदै ‘बलात्कारसम्बन्धी सजायमा पुनरावलोकन जरुरी छ । तर उजुरी गर्नु भनेको पहिलो चरण हो । उजुरी गर्नु भनेको न्यायको पहिलो ढोका हो । यो ढोका कहिल्यै बन्द हुनुहुँदैन ।’ –भन्नुभयो ।