फाइल तस्वीर
काठमाडौं – बजेटमाथिको सैद्धान्तिक छलफल गर्न आजपनि प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि सुरुहुने छ । राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १ बजे बस्ने भएको छ ।

सरकारले जेठ १५ गते आइतबार सङ्घीय संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक बजेटमाथि सांसदहरुले बोल्नेक्रम जारी छ । प्रतिनिधिसभा बैठकमा सांसदहरुले बजेटमाथि उठाएका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले आज शुक्रबारको बैठकमा दिनुहुने कार्यतालिका रहेको छ ।

आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमका साथै बजेटमाथिको सैद्धान्तिक छलफल १७ गते मङ्गलबारदेखि सुरु भएको थियो । बजेटमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुले आ–आफ्नो धारणा राख्दै आएका छन् । आज पनि केही सांसदहरुले आफ्नो धारणा राखेपछि अर्थमन्त्री जनार्दन शर्माले छलफलमा भागलिएका सांसदहरुले उठाउनु भएको प्रश्नको एकमुष्ट जवाफ दिनुहुने छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल एमालेले आज सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । सांसद तथा एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले इन्धन तथा खाद्यान्नमा भएको मूल्यवृद्धिलगायत जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।