फाइल तस्वीर
काठमाडौं– पाँचदिन अघि मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेस्थित मानापाथी हिमालको फेदीमा तारा एयरलाइन्सको विमान दुर्घटना हुँदा ज्यान गुमाएकाहरुको आज अन्त्येष्टी गरिएको छ ।

कानुनी प्रक्रिया पुरा गरेर सरकारले दुर्घटनामा ज्यान गुमाएकाहरुको शव आजै मृतकका परिवारहरुलाई बुझाइएको थियो । शव बुझेपछि आ–आफ्नो धार्मिक परम्पराअनुसार उनीहरुको अन्तिम संस्कार गरिएको हो ।

दुर्घटनामा मृत्यु भएका विमानका क्याप्टेन प्रभाकर घिमिरे र को–पाइलट उत्सव पोखरेल लगायत गोरखा जिल्लाका गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रश्मी श्रेष्ठ र रोजिना श्रेष्ठ र दुर्घटनामा ज्यान गुमाएका चार जना भारतीयको पनि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । नेपालस्थित भारतीय दूतावासको समन्यवमा भारतबाट आएका दुई जना आफन्तको जिम्मा लगाइ उनीहरुको पशुपति आर्यघाटमै अन्तिम संस्कार गरिएको हो ।

धनुषाको गोले परिवारका सात जनाको बिहीबार स्वयम्भूमा बौद्ध पराम्पराअनुसार अन्त्येष्टी गरिएको छ । उक्त विमान दुर्घटनामा धनुषाका राजनकुमार गोलेसहित उनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ गरी एकै घरपरिवारका सात जनाको मृत्यु भएको थियो । दुई जना जर्मन नागरिकको शव भने जर्मनी पठाउने तयारी भइरहेको बताइएको छ।

तारा एयरलाइन्सको ट्वीनटर विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्य, १३ नेपाली, चार भारतीय तथा दुई जना जर्मन नागरिकको ज्यान गएको थियो ।