फाइल तस्वीर
काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक बजेटमा उल्लेख गरिएको निर्यात प्रवद्र्धन र कृषि क्षेत्रका कार्यक्रमहरु सकारात्मक भएको भन्दै संसदमा बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्ने सांसदहरुले प्रशंसा गर्नुभएको छ । सांसदहरूले मुलुकको अहिलेको आावश्यकताअनुसार सरकारले कृषि र निर्यातलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गर्नुभएको हो ।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरुले कार्यान्वयनमा चुनौती रहेकामा सरकारको ध्यानाकर्षणसमेत गराउनु भएको छ ।

बैठकमा बोल्दै सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदै बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएकोमा प्रशंसा गर्नुभयो । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको भन्दै सांसद सुवेदीले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिनुभयो ।

सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउन जोड दिंदै मुलुकमा आर्थिक सङ्कटभए पनि आत्तिने अवस्था नभएको भन्दै निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट आउनु सकारात्मक भएको बताउनु भयो ।

सांसद एकवाल मियाँले गठबन्धनले गर्दा स्थानीय तहको निर्वाचनमा महिला पछाडि परेको आरोप लगाउँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने ठाउँमा रुख नभएको भन्दै विमानस्थल बनाउन रोक्नुको कारण केहो भनी सरकारसँग प्रश्न गर्नुभयो ।

बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिंदै सांसद सीतादेवी यादवले सरकारले ल्याएको बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधी निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधी नपाइने समस्यालाई समाधान गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै शेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गर्नुभयो । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत छ भन्नुभयो । साथै उहाँले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले बजेटमा धेरै कार्यक्रम भएकाले कार्यान्वयनमा गाह्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भावनामा कुरा गरेर कल्पनामा देश नचल्ने बताउँदै यथार्थमा रहेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आत्मनिर्भर बनाउन चक्लाबन्दी कानुन लागू गर्नुपर्ने, कृषि उपकरणमा पर्याप्त सहुलियत दिनुपर्ने, सहकारी नीति लागू गर्नुपर्ने, सिँचाइको पर्याप्त सुविधा हुनुपर्ने सुझाव दिनुभयो ।

सांसद महोम्मद इस्तियाक राईले बजेटमा रहेका कार्यक्रम कार्यन्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले बजेटमा बाँकेका धेरै कार्यक्रम छुटेको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण नेपालगञ्जको विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रमसमेत नभएको गुनासो गर्नुभयो । विद्युतीय सवारीसाधन र ड्राइफुडमा लगाइएको कर केही सीमित व्यक्तिलाई पोस्न ल्याइएको हो कि भनी उहाँले शङ्का गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम रहेको उल्लेख गर्दै किसानलाई राहत दिने कार्यक्रम राम्रो छ भन्नुभयो । उहाँले मलखादको समयमै व्यस्थापन गर्न सुझावसमेत दिनुभयो । बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उहाँले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो । बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

बजेटमाथि सैद्धान्तिक छलफलमा भागलिंदै सांसद डा. शिवमाया तुम्बाहाम्फे बजेट चुनावलक्षित भएको र समाजवादोन्मुख देखिएको तर कार्यान्वयन हुन नसक्ने दाबी गर्नु भयो । सांसद शिवमायाले सबै सुकुम्बासी, भूमिहीन दलित र घरबारविहीनलाई उचित र समानरूपमा जग्गा र वासस्थानको व्यवस्था मिलााउन सरकारसँग माग गर्नुभएको छ ।