सुर्खेत – बाँकेको नेपालगञ्जस्थित वीरेन्द्र चोकमा आज बिहानैदेखि तनाव उत्पन्न भएको छ । वीरेन्द्र चोकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्न खोजिएपछि प्रहरी प्रशासनले हस्तक्षेप गर्दा सो समूहसँग झडप भएकोले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस समेत प्रहार गरेको हो ।

वि.सं. २०६२/६३ को जनआन्दोलनका क्रममा धम्बोजी चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड भएको थियो । त्यसपछि वीरेन्द्रको शालिक हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो । सो स्थानमा दरबार हत्याकाण्डको दिनको सन्दर्भ पारेर आज केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको शालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको शालिक राखेका थिए । तर शालिक ‘फिक्स्ड’ गर्न नपाउँदै प्रहरीले हस्तक्षेप गरी वीरेन्द्रको शालिक त्यहाँबाट प्रहरीले हटाइसकेको जनाइएको छ । सोही क्रममा धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको सेतु विकको शालिक पनि तोडफोड भएको छ । धम्बोजी चोक र सेतु विक चोकको तनावको क्रममा प्रहरी र राजावादी समूहबीच ढुङ्गामुढा समेत भएको बताइएको छ ।