फाइल तस्वीर
काठमाडौं – पाँच दलीय सत्ता गठबन्धनभित्र सङ्घीय र प्रदेशसभा निर्वाचन गर्ने विषयले प्रवेश पाएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात् गठबन्धन दलभित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको विषयले प्रवेश पाएको हो ।

सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कहिले गर्दा उपयुक्त हुन्छ ? विषयमा औपचारिक र अनौपचारिक किसिमले विभिन्न चरणमा छलफल भैरहेको छ । केही दलका नेताहरुले कात्तिक अन्तिम साता गर्दा उपयुक्त हुने भनेका छन् भने केहीले मङ्सिर अन्तिम सातामा गर्न सकिने धारणा राखेका छन् ।

मङसिरमा निर्वाचन गर्दा चिसो सुरु भैसक्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा निर्वाचन गराउन समस्या हुने तर्कपनि व्यक्त भैरहेका छन् । सत्ता गठबन्धन भित्रको यो बहसले कार्तिक या मङ्सिरसम्ममा सङ्घीय र प्रदेशसभाको निर्वाचन हुन सक्ने बलियो सम्भावना देखिन्छ ।

गठबन्धन दलहरुबीच सहमति जुटाएर निर्वाचन आयोगसँगको परामर्शमा सरकारले मिति तोक्ने भएको छ । चिसो मौसम सुरु भएकाले निर्वाचन दुई चरणमा गर्दा उपयुक्त हुने भन्दै गठबन्धनले मङ्सिरको दोस्रो या तेस्रो सातासम्ममा सङ्घीय र प्रदेशसभाको निर्वाचनको मिति तोक्ने सम्भावना छ ।

एक साता अघिमात्रै नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्घीय र प्रदेशसभाको निर्वाचनबारे सत्ता गठबन्धन दलका शीर्ष नेताहरुबीच सामान्य छलफल भएको बताउनु भएको थियो । नेता खनालले त्यतिबेला मङ्सिरसम्ममा निर्वाचन हुन सक्ने सम्भावनालाई औल्याउनु भएको थियो ।

सङ्घीय संसद्को बजेट अघिवेशन सकिए पछि सरकारले निर्वाचनको गृहकार्य गर्ने र कार्तिकको अन्तिम या मङ्सिरको दोस्रो सातामा निर्वाचन गर्ने गरी मिति तोक्न सक्नेछ ।